देवदर्शन नेटवर्क प्रा.लि. द्वारा सञ्चालित

समाज

चितवनमा कान्छी श्रीमतीको हत्या आरोपमा श्रीमान्लाई जन्मकैद, जेठी श्रीमतीलाई सफाइ
चितवन, माघ १९-जिल्ला अदालत चितवनले कान्छी श्रीमतीलाई हत्या गरेको आरोपमा श्रीमान्लाई जन्मकैदको फैसला सुनाएको छ ।आइतबार न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले खैरहनी नगरपालिका–९, सिमलटाँडी बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारीलाई सो फैसला सुनाएको हो । सोही घटनाकी आरोपित कृष्णप्रसादकी जेठी श्रीमती शर्मिला अधिकारी ढुङ्गानालाई भने सफाइ दिइएको अदालतका स्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ०७७ वैशाख २७ गते राति ३४ वर्षीया अञ्जु अधिकारीलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरिएको थियो । हत्यामा प्रयोग भएको खुकुरी प्रहरीले बरामद गरेको थियो ।घरायसी विवादका कारण खुकुरी प्रहार हुँदा अञ्जुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । मृतक महिलालाई पहिलेदेखि नै कृष्णप्रसाद र जेठी श्रीमतीले यातना दिने गरेको स्थानीयले बताएका छन् । पहिलो श्रीमतीबाट बच्चा नभएपछि अञ्जुलाई दोस्रो श्रीमतीको रुपमा कृष्णप्रसादले ल्याएका थिए । उनीहरुको साथमा हाल एक वर्षको बालक रहेको छ । कृष्णप्रसादले बच्चा आफूसँग छाडेर अञ्जुलाई घरबाट निस्कन दबाब दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।बेलुकी खाना खाने समयमा झगडा भएको स्थानीयको भनाइ छ । बारा जिल्ला स्थायी घर भए पनि उनीहरु खैरहनी सिमलटाँडीमा डेरामा बस्थे । बैशाख २८ गते मृतक अञ्जुका बुबा बच्चुराम तिमिल्सेनाले इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएका थिए । त्यसपछि दुई आरोपितहरुविरूद्ध प्रहरीले जेठ २० गते जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । अदालतको आदेशमा उनीहरुलाई थुनामै राखिएको थियो ।
भरतपुरका सामुदायिक विद्यालयलाई बस प्रदान
भरतपुर महानगरपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भएपछि महानगरपालिकाले पाँच विद्यालयलाई बस खरीद गर्न रु एक करोड निकासा समेत गरेको छ । महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार चालू आर्थिक वर्षमा पाँच विद्यालयलाई बस किन्न एक विद्यालयलाई रु २० लाखका दरले प्रदान गर्न सम्झौता गरिसकिएको छ । कविलाश, नारायणी नमूना, भीमनगर, प्रभात र लक्ष्मी माध्यामिक विद्यालयला बस खरिदका लागि रकम विनियोजन गरिएको हो । ती विद्यालयले महानगरपालिकासँग सम्झौता गरी बस खरीदका लागि बोलपत्र आह्वान गरेका छन् । उहाँले भन्नुभयो, “हामीले रु २० लाखका दरले रकम दिने गरी सम्झौता गरेका छांै । अपुग भए विद्यालयले थप्नेछन् ।” भन्सार छुट गर्दा रु २२ लाखको हाराहारीमा बस आउने जनाइएको छ । प्रमुख पौडेलका अनुसार वाग्मती प्रदेश सरकारको सहयोगमा हिमालय दण्डपाणि विद्यालयले बस खरिद गरेर गत वर्षबाट सञ्चालनमा ल्याएको छ । यसैगरी आन्तरिक स्रोतबाट जानकी, भानु र प्रेमबस्ति माध्यामिक विद्यालयले पनि बस खरिद गरेर सञ्चालन गर्दै आएका छन् । बस सञ्चालनका लागि लाग्ने खर्च विद्यार्थीबाट उठाइँदै आएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले धेरै विद्यार्थी भएका, टाढाबाट आउनुपर्ने र प्राविधिक विषयको पढाइ गर्ने विद्यालयलाई पहिलो चरणमा बस दिइएको जानकारी दिनुभयो । यसको प्रभावकारिता हेरेर आउँदो वर्ष थप विद्यालयलाई बस किन्न सहयोग गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “महानगरभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सहयोग गरिँदै आएको छ ।”छात्राहरुलाई साइकलदेखि विपन्न विद्यार्थीलाई न्यानो कपडासमेत बाँड्दै आएको जनाउँदै उहाँले विद्यार्थीको गुणस्तर वृद्धि गर्नका लागि विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थी सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । महानगरभित्र १२३ सामुदायिक र ९७ संस्थागत विद्यालय रहेका छन् । सामुदायिकमा ३५ हजार र संस्थागतमा ४० हजार विद्यार्थी अध्ययनरत रहेका छन् । अधिकांश संस्थागत विद्यालयले विद्यार्थी ओसार्न बस प्रयोग गर्दै आएका छन् । नमूना विद्यालयका रुपमा चिनिएको नारायणी नमूना माविका प्राचार्य पूर्णप्रसाद दवाडी महानगरले शैक्षिक गुणस्तर विकासका लागि आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । कक्षा १२ सम्म र प्राविधिक तर्फ डिप्लोमा इन्फरमेशन एण्ड टेक्नोलोजीको पढाइ गरेको यस विद्यालयमा दुई हजार ५५८ विद्यार्थी छन् । ती विद्यार्थीमध्ये देवघाट, शिवघाट, लामाटोललगायतका क्षेत्रबाट अभिभावकले बस र चारपाङग्रे साधन (म्याजिक) भाडामा लिएर विद्यार्थी पठाउने गरेका छन् । प्राचार्य दवाडी विद्यालयमा रहेका बौद्धिक अपाङ्ग र सवारीसाधन भाडामा लिएर आउने गरेका विद्यार्थीलाई बसले बोक्ने जानकारी दिनुभयो । विद्यालयमा बौद्धिक अपाङ्ग २९ अध्ययनरत छन् ।
कुष्ठरोगीको सङख्यामा कमी
ललितपुर, १९ माघ (रासस) ः कुष्ठरोग रोग उपचारमा ६५ वर्ष अघिदेखि सेवा गर्दै आएको गोदावरी नगरपालिका–६ स्थित आनन्द वन अस्पतालमा कोभिड महामारीका कारण कुष्ठरोगीको सङख्यामा कमी आएको छ । चालू आर्थिक वर्ष २०७६÷७७ मा अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्या दुई हजार ४४ रहेकोमा गत आव २०७५÷७६ मा दुई हजार ९२१ रहेको जनाइएको छ । अस्पतालका मेडिकल निर्देशक डा महेश शाहले गत १० महिना अघि मुलुकमा फैलिएको कोरोना महामारीका कारण अस्पतालमा उपचार गराउन आउने कुष्ठरोगीको सङ्ख्यामाी कमी आएको छ । यसैगरी अस्पतालमा बहिरङग सेवा लिन आउने पनि आधानै घटेका थिए । यसवर्ष मात्र तीन हजार ६५० ले सो सेवा लिए भने गत आवमा छ हजार १६३ ले लिए । राष्ट्रियस्तरमा नयाँ बिरामीमा यस आवमा एक हजार ८५३ ले उपचार गरे । गत आवमा भने तीन हजार २८२ ले सेवा लिएका थिए । दि लेप्रोसी मिसन नेपालका तालीम संयोजक गोपाल पोखरेलले अस्पतालले कोरोना कहरको समयमा कूल २९८ कुष्ठ प्रभावितको निःशुल्क उपचार सेवा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ ७२ कुष्ठरोग प्रभावितलाई अस्पताल क्वारेन्टिनमा राखी उपचार सेवा दिएकोमा १७ को नतिजा पोजेटिभ आयो ।” कूल २९८ कुष्ठरोग प्रभावितमध्यकै अर्का २२६ को ललितपुर महानगरपालिका–२१ खोकनामा गई स्वाब सङ्कलन गर्दा त्यसमा १२ को नतिजा पोजेटिभ आई एकको मृृत्युसमेत भएको पोखरेलले जानकारी गराउनुभयो । त्यसैगरी सन् २०१९ भित्र मुलुकमा दर्ता भएका कुष्ठ प्रभावितको सङ्ख्या दुई हजार ९२१, नयाँ बिरामीको सङ्ख्या तीन हजार ८४४ र १४ वर्ष मुनिका बालबालिकाको सङ्ख्या २९३ रहेको अर्का तालीम संयोजक राजकुमार पौडेलले बताउनुभयो । वाग्मती प्रदेश स्वास्थ्य सेवा विभागका निर्देशक रमेश अधिकारीले विश्वमा कुष्ठ प्रभावितको सङ्ख्या दुई लाख भन्दा बढिरहेको छ । यदि रोग बारेको भ्रम न्यूनीकरण गर्दै समयमै उपचार गरी अघि बढ्नसके कुष्ठरोगमुक्त मुलुक बनाउन सकिने उहाँको भनाइ छ । मिसनका देशीय निर्देशक शोभाखर कँडेलले विगतको अनुभवबाट सो रोगबारे स्वास्थ्यकर्मी मात्र नभइ समुदायका हरेक वर्गको साझा पहलबाट सामाजिक र कानूनी विभेद अन्त्य गर्दै लानुपर्छ भन्नुभयो । स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा माधव लम्सालले स्वास्थ्यकर्मी कहिल्यै पनि आफ्नो पेशामा नहार्ने बताउँदै कोभिड कहरमा विजय हासिल गर्दै गए जसरीनै कुष्ठ प्रभावितको समस्या पनि एक दिन निराकरण गरेरै छाड्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले वाग्मती प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोक र रसुवामा कुष्ठ प्रभावितको सङ्ख्या शून्य भएजसरी नै बाँकी ११ जिल्लालाई पनि सो रोगमुक्त जिल्ला बनाउन लागिपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो रोग कुनै पाप वा अपराध गरेर लाग्ने होइन् यो त ‘माइक्रोब्याक्टेरियम लेप्रे’ भन्ने जीवाणुबाट लाग्ने भएकाले समयमै उपचार गरी अङ्गभङ्ग हुनबाट जोगिनुपर्छ ।” मानिसको शरीरमा कीटाणु प्रवेश गरेपछि रोग निरोधक शक्तिले कीटाणु मार्न सकेन भने कुष्ठरोग लाग्ने डा गेलालले जानकरी गराउनुभयो । काभ्रेको बलथलिका १२ वर्ष उमेरमा कुष्ठरोग प्रभावित भई उपचार गरेका काशिनाथ आर्यलले सो रोगका कारण व्यक्ति सामाजिक वहिष्कार, छुवाछुत र तिनका बालबालिका समेतमा घृणा अनि तिरस्कारका घटना घट्ने गरेकोमा आफूलाई ज्यादै दुःख लागेको बताउनुभयो । “कोरोना महामारीमा हाम्रो संयमता, समयमै कृष्ठरोग व्यवस्थापनमा सक्रियता” भन्ने मूल नाराका साथ आज नेपालका विभिन्न स्थानमा सो दिवस मनाइयो । कुष्ठरोगको कीटाणुले छाला र स्नायुमा असर गर्छ । कुष्ठरोगको शुरुआती चरणमा उपचार हुँदा क्षति नहुने र उपचारमा ढिलाइ हुँदा शरीरका विभिन्न भागमा असर पुग्न गई अङ्गभङ्ग हुने गरेको जानकारहरुको भनाइ छ । कुष्ठरोग एउटा सुक्ष्म कीटाणुको कारणले लाग्ने गर्छ । सो जीवाणु शरीरमा प्रवेश गरेपछि हल्का फुस्रो खालको दाग देखिन्छ । त्यो दागले तातो, चिसो र अन्य कुनै पनि आभास गराउँदैन । भनिन्छ, चिमोट्दा पनि थाहा नहुने लाटो फुस्रो दाग यसले देखाउछ । सो रोग लाग्दा बिरामीको आँखा र हातखुट्टाको नशालाई असर गर्छ । यसले हातखुट्टा झमझमाउने, तातो चिसो छुट्टा्याउन नसक्ने, आँखाको ढकनी बन्द गर्न नसक्ने, हातखुट्टाका आंैला कमजोर भई बाँङ्गो हुने र केही पनि समात्न नसक्ने, स्पर्श गरेको वा चोटपटक लागेको या घाउ भएको थाहा नहुने लक्षण देखिनुका साथै कसैका कानका लोती झुण्डिने र जोर्नी दुख्न थाल्ने जस्ता समस्या पनि देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई २०१० मा कुष्ठरोग निवारण भएको मुलुक घोषणा गरे तापनि नेपालमा प्रति १० हजारमा शून्य दशमलव ७७ अर्थात एकभन्दा कम रोगीको सङ्ख्या अझै रहेको जनाइएको छ ।
उखुखेती छाड्दै किसान
वीरगञ्ज, २२ पुस । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–४ का किसान हीरालाल महतोले पोहोर साल ३ बिघा क्षेत्रफलमा उखुखेती गर्नुभएको थियो । तर यसपाली एक बिघामा मात्र उखुखेती गर्नुभएको छ ।महतोले उत्पादन गर्नुभएको उखुको भुक्तानी हालसम्म नपाउदा उहाँले उखुखेती मासेर अन्नबाली खेती गर्ने सोचमा रहनुएको छ । विगत लामो समयदेखि उखुखेती गर्दै आउनु भएका महतो मात्र होइन, त्यहाँका अर्का किसान धनेसी महतोको पनि यस्तै पीडा छ ।“ऋण काढेर उखुखेती गरिन्छ”, उहाँले भन्नुभयो, “उखु मिलले समयमा रकम भुक्तानी नदिँदा ऋणमा डुब्ने डरले यसपालीदेखि उखुखेती गर्न छोडिएको छ ।” धनेसीले आफ्नो पीडा पोख्दै राससलाई भन्नुभयो, “उधारोमा आफ्नो उत्पादन बेच्दा चिनी उद्योगीले समयमा रकम भुक्तानी नगरेको अवस्थाको कारण हामी उखुखेती छाडी अन्नबालीखेती गर्ने साेंचमा रहेका छौं ।”नगदेबालीको उधारो कारोवारले आजित भएका यहाँका उखुखेती गर्ने किसानहरु भुक्तानीका लागि निकै सास्ती खानु परेकाले जिल्लाको उत्तरी भेग बर्दिबासदेखि सुदूरदक्षिणको जलेश्वरसम्म विगत १५ वर्षदेखि उखुखेती गर्दै आएका किसान विस्तारै उखुखेती मासेर अन्नबालीखेती तर्फ आकर्षित हुन थालेका छन् ।महोत्तरी भङ्गाहाकै अर्का किसान सूर्यदेव मुखियाले पनि वर्षौदेखि गर्दै आएको उखुखेती मासेर यसपाली डेढ बिघा क्षेत्रफलमा गँहुखेती गर्नुभएकोे छ । जिल्लामा विगत लामो समयदेखि उखुखेती गर्दै आउनु भएका किसान क्रमशः अब यो पेशा त्यागेर नगदेबालीको साहारा लिन थालेका छन् ।करिब २० हजार बिघामा व्यावसायिक रुपमा उखुखेती हुने महोत्तरी जिल्लामा अहिले यो क्रम घटदै गएको छ । अहिले जिल्लामा छ हजार ५०० बिघामा उखुखेती भइरहेको छ । “यसपालि छ हजार ५०० बिघामा उखु बाली छ”, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भन्नुभयो, “यसमध्ये दुई हजार ५०० बिघामा खुट्टी (दोस्रो वर्षको बाली) उखु छ, यो यसपालि खाली भएपछि अर्का वर्ष तीन हजार बिघामा झर्छ ।”एकपटक रोपेर दुई बाली लिइने उखुमा पहिलो वर्षको लाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ । यसपालि नयाँ उखु बाली लगाउने किसान नदेखिएपछि अझै उखु घट्ने स्पष्ट देखिएको हो । उखु खेतीको तयारीमा प्राविधिक सहयोग र सुलभ ऋण नपाउनु, उखु खेतीको मूल्य निर्धारणमा बर्सेनि झमेला हुनु र भुक्तानी समयमा नपाएपछि यो खेती घट्दै गएको बताइएको छ । उखुखेती नगदेबाली र सरकारले यसलाई राष्ट्रियबाली भनेर घोषणा गरिसकेको छ ।तर नगदेबाली भनिएको उखुको उधारो कारोवारले किसानलाई अहिले त्यही उखुखेती निल्नु न ओकल्नु जस्तो भएको छ । चिनी उद्योगले किसानको उखु किन्दा समयमै रकम भुक्तानी नदिएकाले किसान वर्षौदेखि प्रताडित हुँदै आएका छन् । उधारोमा उखु बेच्न बाध्य रहेका किसानले आफ्नो भुक्तानी लिन प्रत्येक वर्ष उखु मिलमा धाउनुपर्ने बाध्यता रहेको छ ।जग्गा भाडामा लिएर तथा ऋण काढेर उखुखेती गरेका किसान जग्गाको भाडा, मल, बीउ, खेतालाको पैसा तिर्न नसकेर घरखेत लिलाम हुने अवस्थामा पुगेको उखु उत्पादक किसान सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिजले उखु कटानको चलान पूर्जी दिन थालेको छ ।तर मूल्य निर्धारण नहुँदै आफ्नो उत्पादन बुझाउनुपर्ने भए पनि भुक्तानी भने कहिले पाउने थाहा नभएकोले उखुको गुलियो उत्पादन अमिलो जस्तो भएको छ । महोत्तरी जिल्लामा मात्र नभएर प्रदेश नं २ को अधिकांश जिल्लाका किसानले विस्तारै उखुखेती छोड्दै गएका छन् । उखुको उधारो कारोवार र चिनी उद्योगीको भुक्तानी नदिने मनसायका कारण आजित भएका किसानले धमाधम उखुखेती मासिरहेका छन् ।सिँचाइ सुविधा नभएका कतिपय ठाउँमा त खेत बाँझो नै राखिएको छ । प्रदेश नं २ को अधिकांश जिल्लमा उखुखेती घटेसँगै कतिपय चिनी मिल बन्द हुने अवस्थामा पुगेको छ । उद्योगले किसानसँग खरिद गरेको उखुको समयमै भुक्तानी नदिने जस्ता कारणले एकातिर उद्योग धरासायी हुने गरेको छ भने अर्कोतिर कैयांै मजदूरको रोजगारीसमेत गुमेका कारण तिनीहरुलाई आर्थिक समस्या समेत आएको देखिन्छ ।सरकारले विदेशवाट आयात भएर आउने चिनी नरोक्दा आफ्नो उत्पादन बजारसम्म पुग्न नसकेकाले आर्थिक अभावको कारण समयमा किसानलाई भुक्तानी दिन नसकिएको मिलका सञ्चालकले स्वीकारेका छन् । उनीहरु भन्छन्, “उद्योग सञ्चालनमा लागेको पूँजीको ब्याज, उद्योगस्थलको भाडा, किसानको खेती लागत र उत्पादन समेतको वैज्ञानिक लेखाजोखा गरेर सरकारले उखुको मूल्य तोक्नु पर्दछ ।(रासस)