देवदर्शन नेटवर्क प्रा.लि. द्वारा सञ्चालित

समाज

चितवनमा कान्छी श्रीमतीको हत्या आरोपमा श्रीमान्लाई जन्मकैद, जेठी श्रीमतीलाई सफाइ

  • १९ माघ २०७७, सोमवार
  • Author

चितवन, माघ १९-

जिल्ला अदालत चितवनले कान्छी श्रीमतीलाई हत्या गरेको आरोपमा श्रीमान्लाई जन्मकैदको फैसला सुनाएको छ ।

आइतबार न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले खैरहनी नगरपालिका–९, सिमलटाँडी बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारीलाई सो फैसला सुनाएको हो । सोही घटनाकी आरोपित कृष्णप्रसादकी जेठी श्रीमती शर्मिला अधिकारी ढुङ्गानालाई भने सफाइ दिइएको अदालतका स्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ०७७ वैशाख २७ गते राति ३४ वर्षीया अञ्जु अधिकारीलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरिएको थियो । हत्यामा प्रयोग भएको खुकुरी प्रहरीले बरामद गरेको थियो ।

घरायसी विवादका कारण खुकुरी प्रहार हुँदा अञ्जुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । मृतक महिलालाई पहिलेदेखि नै कृष्णप्रसाद र जेठी श्रीमतीले यातना दिने गरेको स्थानीयले बताएका छन् । पहिलो श्रीमतीबाट बच्चा नभएपछि अञ्जुलाई दोस्रो श्रीमतीको रुपमा कृष्णप्रसादले ल्याएका थिए । उनीहरुको साथमा हाल एक वर्षको बालक रहेको छ । कृष्णप्रसादले बच्चा आफूसँग छाडेर अञ्जुलाई घरबाट निस्कन दबाब दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

बेलुकी खाना खाने समयमा झगडा भएको स्थानीयको भनाइ छ । बारा जिल्ला स्थायी घर भए पनि उनीहरु खैरहनी सिमलटाँडीमा डेरामा बस्थे । बैशाख २८ गते मृतक अञ्जुका बुबा बच्चुराम तिमिल्सेनाले इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएका थिए । त्यसपछि दुई आरोपितहरुविरूद्ध प्रहरीले जेठ २० गते जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । अदालतको आदेशमा उनीहरुलाई थुनामै राखिएको थियो ।

थप समाचार