देवदर्शन नेटवर्क प्रा.लि. द्वारा सञ्चालित

राजनीति

संसद विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ सुरु

  • २२ पुष २०७७, बुधवार
  • Author

काठमाडौं, २२ पुस । संसद विघटन असंवैधानिक भएको जिकिरसहित परेका मुद्दाहरुको सुनुवाइ गर्न यसअघि गठित संवैधानिक इजलासलाई नै सर्वोच्च अदालतले निरन्तरता दिएको छ ।

सर्वोच्च अदालतले मुद्दाको बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसीसहित संवैधानिक इजलासलाई निरन्तरता दिएका हुन् ।

संवैधानिक इजलासमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई सदस्यलाई राखिएको भन्दै आलोचना हुँदै आएको छ । यस्तै न्यायाधीश कार्की केपी शर्मा ओली निकट नेकपा नेता सुवास नेम्वाङ र महान्यायाधीवक्ता अग्नि खरेलसँग निकट रहेको भन्दै स्वार्थ बाझिन सक्ने चिन्तासमेत व्यक्त भइरहेको छ ।

निवेदकका कानुन व्यवसायीहरुले मुद्दाको बहस बृहत् इजलासमा गर्न माग गरेका छन् । कानुन व्यवसायीहरुको निवेदनका बारेमा अध्ययन गर्नका लागि इजलासले अध्ययन गरिरहेको छ । अहिले संवैधानिक इजलासमा बहस सुरु भए पनि मूल मुद्दामा प्रवेश गरेको छैन ।

निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेका छन् ।

सर्वोच्चले यसअघि गठन भएको संवैधानिक इजलासलाई नै पुन: निरन्तरता दिइएको हो । उक्त इजलासमा १३ वटा निवेदनहरुको नियमित सुनुवाइ हुने योजना छ । सर्वोच्च अदालतको आदेशअनुसार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखले लिखित जवाफ दिइसकेका छन् भने मागेको अरु फाइलसमेत पठाएका छन् ।

थप समाचार